२८ मंसिर २०८१, शुक्रबार | Fri Dec 13 2024

नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

१४ कात्तिक, काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बंगलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बंगलादेशले लियो । खेलको ५२औँ मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१औँ मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बंगलादेशको पोल्टामा पुग्यो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार २०:३७