१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

साउदी अरबको नेपाली दूतावासले मृतक कामदारले पाउनुपर्ने रकम नेपाल पठाइयो

९ पुस, काठमाडाैँ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपाली नागरिकले पाउनुपर्ने रकम नेपाल पठाएको छ । मृतक नेपाली कामदारका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता र ब्लडमनी समेत गरी पाँच लाख ८१ हजार ३३४ साउदी रियाल यही पुस ८ गते काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको खातामा पठाइएको दूतावासले जनाएको छ ।

सडक दुर्घटना, आात्महत्या, प्राकृतिक मृत्यु, करेन्ट लागेर मृत्यु र कामको समयमा मृत्यु भएका ती नेपाली श्रमिकले पाउनुपर्ने तलब, भत्ता तथा क्षतिपूर्ति नेपाल पठाइएको हो ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका रुपन्देहीका अखिलेश कुमार चौधरी, बाग्लुङका भीमबहादुर केसी, पाल्पाका विवेक कुँवर, धनकुटाका विक्रम घिमिरे, तनहुँका बुद्धिकुमार श्रेष्ठ, गुल्मीका दधिराम केसी, सर्लाहीका गोपालप्रसाद साह, गोरखाका ज्ञानबहादुर गुरुङ, झापाका झलक श्रेष्ठ र खड्ग चौधरी, सङ्खुवासभाका लालबहादुर तामाङ, खोटाङका मङ्गले सार्की, धादिङका नमराज खड्का, नुवाकोटका राजु तामाङ र दाङका टीकाराम चौधरीले पाउनुपर्ने ब्लडमनीबापतको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।

त्यसैगरी मृतक स्याङ्जाका दलबहादुर गाहा, रुपन्देहीका धमबहादुर पुन, झापाका सरोजकुमार सुवेदी, सिरहाका सुजित यादव र नवलपरासीका योगेन्द्र चौधरीले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको छ ।

प्राकृतिक कारणबाट मृत्युवरण गरेका रौतहटका दीपक परियार दमाई, ओलखढुङ्गाका जीतबहादुर राई, धनुषाका लक्ष्मण मण्डल केवट, नवलपरासीका नीमबहादुर सेन, झापाका ओमप्रसाद चापागाईं, सुनसरीका फूलचन चौधरी, धनुषाका रामनरेश पण्डित, झापाका रत्नबहादुर ग्याङ्मी मगर र करेन्ट लागेर मृत्यु भएका मकवानपुरका ज्वाला लामा योन्जन, कामको समयमा मृत्यु भएका धनुषाका सञ्जिव यादवले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : December 24, 2018 at 10:17 pm