८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

रवि जेल गएपछि जिबी राई आफैँ नेपाल आउने, यस्तो छ राईको सन्देश

८ कात्तिक, काठमाडौँ । सहकारी ठगीका रवि लामिछानेका साझेदार जिबी राईले आफू असुरक्षित भएकाले विदेशमा लुकेको बताउनुभएको छ । जनआस्था साप्ताहिकलाई इमेल मार्फत जिबीले आफू रविकै कारण लुकेर बसेको बताउनुभएको हो । लामो पत्र लेख्दै जिबीले रवि जेल चलान भएपछि आफू आफैँ नेपाल फर्किने र सबैको पैसा फिर्ता दिने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष समेत रहेका जनाआस्थाका सम्पादक किशोर श्रेष्ठले जिबीको पत्र सार्वजनिक गर्दै पत्रको आधिकारिकता पुष्टिको लागि काम भैरहेको जानकारी दिनुभएको छ । श्रेष्ठले सार्वजनिक गरेको पत्रमा जिबीले केही गम्भीर सवालहरू उठाउनुभएको छ भने आफ्नो सुरक्षाको चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

यस्तो छ सन्देश

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,

अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला,जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ ।

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।

केहीपछि तपाईंलाई गार्हो हुन्छ,मेरो नाम पनि जोडिन्छ,टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे ।

उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ ।

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।

उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन,तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे । अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस् । उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १८:४७