७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

खोला किनारको नयाँ मापदण्डका कारण जग्गा दान लिनुपर्योः महासचिव पोखरेल

८ कात्तिक,  काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल पनि सामाजिक संस्था भएका कारणले त्यसको पुनर्निर्माण राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वाभाविक हक भएको बताउनुभएको छ ।
कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त उल्लेख गर्दै पोखरेलले यस्तो अवस्थामा नेकपा एमालेले पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रूपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित नभएको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले कार्यकर्ताबाट पर्याप्त सहयोग रकम सङ्कलन हुन नसकेको र बल्खु स्थित पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने पार्टीको संस्थागत निर्णय गरिएको स्पष्ट पार्नुभएको छ । यस्तो अवस्थामा पार्टीले विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुनर्निर्माण लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना राखेकोले सहयोग लिएको लिएको उल्लेख गर्नुभएको छ । ‘यस्तो सहयोग लिनु स्वाभाविक हो, अन्यथा ठान्न मिल्दैन’, उहाँले लेख्नु भएको छ ।

महाविपत्तिमा भएको क्षतिको पुनर्निर्माण सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । महाविपत्ति पछिको राहत, उद्धार र पुनर्निर्माण राज्यले समेत नागरिक र अन्तराष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजन जानकार नै रहेको पोखरेलले स्मरण गराउनुभएको छ । नेकपा एमालेले नयाँ पार्टी कार्यालय बनाउनका लागि नभई पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुनर्निर्माण गर्न लागेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माण नेतृत्व नेकपा एमाले आफैँले सरकारमा रहँदा गरेको पनि उहाँले स्मरण गराउनुभएको छ । एमालेले पहिले जनताका घर पुनर्निर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण गर्ने नीति लिएको पनि उहाँले स्मरण गराउनुभएको छ ।

यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुनर्निर्माण गर्न खोजेको उहाँले उल्लेख गर्नुभएको छ । त्यो पनि बाढी र डुबानका कारणले भाडमा रहेको पार्टी कार्यालयमा ठुलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:१८