५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्ः महासचिव पोखरेल

५ कात्तिक, काठमाडाैँ । समाजिक सञ्जालमा पार्टीमाथि अनावश्यक टिकाटिप्पणी भैरहेका बेला नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव सहित एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न आग्रह गर्नुभएको हो ।

‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि १’, महासचिव पोखरेलले लेख्नु भएकोछ, ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने विषय नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’

नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गर्नुभएको छ । ‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ’ उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १०:४०