३ कार्तिक २०८१, शनिबार | Sat Oct 19 2024

सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: उपसभापति अर्याल

३ कार्तिक, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिने भनेर कांग्रेस एमाले लागेको बताएका छन् ।

सभापति लामिछानेको पक्राउपछि पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र गरेको बताए ।

उनले रास्वपाका सभापति लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह समेत गरे । साथै आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको पनि उनले बताए ।

उनले दुई तिहाइको दम्भका आधारमा लामीछानेलाई पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मैले भखरै सभापतिलाई भेटेर आएको छु । उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायालयप्रति पुरा विश्वास छ । यो देशमा सरकार मरिसक्यो, न्यायालय मरेको छैन। न्यायालयले रवि होइन, एउटा अभियानलाई बचाउनेछ ।’

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १५:१६