९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

रवि पक्राउ सरकारको कुण्ठा र प्रतिशोध हाे: मनिष झा

३ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुर्व गृहमन्त्रि अर्थात् आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ ।

सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा सभापति रवि लामीछानेको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई हिजो साँझ पक्राउ गरेको थियो ।

सभापति रवि लामिछाने पक्राउपछि पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै सांसद मनिष झाले गगन थापाप्रति लक्षित गर्दै भने– ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दै पनि उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’

सहकारी रकम अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाए पनि सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई लिएर मात्र चर्चा गरेको उनले बताए ।

 उनले थप भने– ‘म सहकारी पीडितहरूलाई पनि भन्न चाहन्छु, यिनीहरूको सहकारी समस्या समाधान गर्ने उद्देश्य भएको भए ८७ अर्बको चर्चा गर्थे । तर यिनीहरू केवल रवि लामिछानेको मात्र चर्चा गर्छन् ।

त्यसकारण रास्वपा एउटा अभियान भएकोले सभापति लामिछानेको पक्राउले केही असर नपर्ने बताउँदै अब राजनीति कस्तो हुन्छ भनेर देखाउने समेत उनले बताए ।

प्रकाशित मिति : October 19, 2024 at 1:52 pm