२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सहयोगको प्रवृत्ति बढाएर विपत्तिलाई मिलेर सामना गरौँ: प्रधानमन्त्री ओली

२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गर्नुभएको छ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उहाँले राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले विपद् प्रभावितलाई उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिनुभयो । “अहिलेको परिस्थितिमा के गर्नु पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ”, उहाँले भन्नुभयो, “कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले दसैँ अगावै सम्पूर्ण प्रयास गरेर अवरुद्ध सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १७:०७