६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएकाे छ: मन्त्री अधिकारी

२ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको टोली सहभागी भएको हो ।

मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गर्नुभयो ।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्ने बताउनुभयो ।

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको कृषिमन्त्री अधिकारीका प्रेस संयोजक प्रवीण पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : 09:22