१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

निर्मला हत्या प्रकरणः फेसबुकमा स्टाटस लेखेर दिन कटाउँदै बर्खास्तमा परेका एसपी विष्ट

८ पुस, काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले हिजोआज समाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ। ‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वभिमानको अन्त्य भएन। खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ –सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेख्नुभएको छ।

उहाँले असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको, तर निष्ठा र स्वाभिमानको अन्त्य नभएको उल्लेख गर्नुभएको छ। खडेरी परेका बेला सत्य ओइलाउन सक्ने, तर कहिल्यै नमर्ने कुरा समेत उहाँको फेसबुक स्ट्याटसमा लेख्नुभएको छ। विष्टले दिनमा झन्डै एक/एक घन्टाको अवधिमा ६ देखि १० वटासम्मका पीडादायी स्ट्याटस लेख्ने गर्नुभएको छ। उहाँले आफ्नो स्ट्याटसमा आफनो जागिरे अवधीभर एक पटक पनि नैसिहत नखाएको इमानदार प्रहरी हुँदाहुँदै पनि विनाआरोप फसाइएको समेत लेख्नुभएको छ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको छ। उनीहरूलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा कात्तिक ८ गते बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको थियो।  अाजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार । 

प्रकाशित मिति : December 23, 2018 at 8:23 am