धमाधम पुस्तकालय बनाउँदै नेपाल जर्नी
–नारायण अधिकारी
७ पुस, चितवन । अमेरीकामा रहेका नेपालीको संस्था नेपाल जर्नीले देशका विभिन्न ठाउँमा पुस्तकालय निर्माण कार्यलाई तीब्रता दिएको छ ।अमेरिकामा विभिन्न कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकमले नेपालमा पुस्तकालय निर्माणसहित सामाजिक सेवामा काम गर्दै आएको हो ।
नेपाल जर्नीको नेपाल शाखाका सचिब प्रकाश सिग्देलका अनुसार जर्नीले मकवानपुरको हेटाँैडामा रहेको ओमशान्ति चिल्डेन पार्कमा रु ४५ लाखको लागतमा विद्युतिय पुस्तकालय निर्माण गरेको छ । पन्ध्र वटा कम्युटर सहितको अत्याधुनिक पुस्तकालय निर्माण गरिएको हो । ओमशान्तिका अभियान्ताले पुस्तकालयको संरक्षण गरेका छन् । पुस्तकालयको सञ्चालनका लागि जर्नीको सक्रियतामा रु ११ लाखको अक्षयकोषसमेत निर्माण गरिएको सिग्देलले बताउनुभयो ।
यसैगरी चितवनको नारायणगढमा रहेको बालकुमारी उच्च माविमा नेपाल जर्नीले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । संस्थाले रु ११ लाख लागतमा पुस्तकालय स्थापना गरेको सिग्देलले बताउनुभयो । सो विद्यालयमा एक हजार ५०० विद्यार्थी अध्ययनरत रहेका छन् । चितवनको अति विकट रहेको इच्छाकामना गाउँपालिकाको कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयमा जर्नीले रु चार लाख खर्च गरेर पुस्तकालय निर्माण गरेको छ । चेपाङ्को बाहुल्यता रहेको सो ठाउँमा पुस्तकालय निर्माणसँगै विद्यार्थी, अभिभावक र शिक्षक लाभान्वित भएका छन् ।

संस्थाले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–३ ललही बुम्दीमा रहेको जनजागृति आधारभूत विद्यालयमा प्रविधि मैत्री पुस्तकालय निमार्ण गरेको छ । सिग्देलका अनुसार रु ४ लाख खर्च गरी सो विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिएको हो । पुस्तकालयमा प्रोजेक्टर, फोटोकपि, खेलका सामग्री पनि सहयोग गरिएको उहाँले बताउनुभयो ।
जर्नीले चितवनको भरतपुर महानगरपालिका–२ मा रहेको रामेश्वर पुस्तकालयमा रु तीन लाख २० हजार खर्च गरेर पुस्तकालय सुधारमा सहयोग पु¥याएको छ । सो पुस्तकालयमा त्यस अघि विद्युतीय पुस्तकालय थिएन । कम्युटर खरीद गर्न पाएसँगै विद्युतीय पुस्तकालय बनेको हो ।
जर्नीका नेपाल कोषाध्यक्ष प्रकाश काफ्लेका अनुसार नवलपुरको देवचुली नगरपालिका–६ मुढावासमा पुस्तकालय निमार्णको शुरुआत गरिएको छ । मगर समुदायको बस्ती रहेको सो स्थानमा त्यहाँका समुदायलाई प्रविधिमा दक्ष बनाउन स्थानीय जनचेतना युवा क्लबसँग सहकार्य गरी रु पाँच लाखको लागतमा विद्युतीय पुस्तकालय निमार्ण शुरु गरेको उहाँले बताउनुभयो ।
काफ्लेका अनुसार भरतपुर महानगरको शहरी क्षेत्रमा अत्याधुनिक पुस्तकालय निर्माणका लागि महानगरसँग जग्गा माग गरिएको छ । महानगरले १० कठ्ठा जग्गा उपलब्ध गराएमा रु छ करोड हाराहारी खर्च गरेर अपाङ्ग मैत्री विद्युतीय पुस्तकालय निर्माण गर्ने योजना रहेको काफ्लेले बताउनुभयो ।

उहाँले नेपालमा नै नमुना अत्याधुनिक पुस्तकालय निर्माण गर्ने योजना बनाइएको बताउनुभयो । जर्नीलाई नेपालमा विद्युतीय पुस्तकालय निर्माण गर्न नेपाल लाइबेरी फाउण्डेसनले सहयोग पु¥याउँदै आएको छ ।
नेपाल जर्नीको अमेरिका अध्यक्ष नारायणगढ निवासी मौसमी श्रेष्ठ हुनुहुन्छ । उहाँकै नेतृत्वमा अमेरिकासहित विभिन्न देशमा रहेका नेपालीले समेत सहयोग जुटाउने गरेका छन् । नेपाल जर्नीले प्रमुख काम पुस्तकालयलाई बनाएको भए पनि अनाथ असाहाय विद्यार्थी पढाउने, दैविप्रकोपमा सहयोग, खानेपानीका क्षेत्रमा पनि सहयोग गर्दै आएको काफ्लेले बताउनुभयो । रासस
प्रकाशित मिति : 09:03









