९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

हवाई जहाजको भाडा नियन्त्रण गर्न अनेरास्ववियुको माग

१५ असोज, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

“भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मुल्यको चरम वृद्धि हुँदा आम जनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चार माध्यमबाट समेत प्रकट भइरहेको छ”, ज्ञापनपत्रमा भनिएको छ ।

अबिलम्ब हवाई भाडाको मुल्यलाई वैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्यवृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको छ ।

अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रबन्ध गर्नसमेत माग गरेको छ । ज्ञापनपत्रमा वायुसेवा कम्पनीहरुको प्रभावकारी नियमन र नेपाल एयर लाइन्सको प्रभावकारी सञ्चालन गर्न पनि माग गरिएको छ ।

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चाँडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको र जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताउनुभयो । साथै उहाँले अखिलले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : October 1, 2024 at 3:49 pm