२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

दश तस्बीरमा हेर्नुहोस् कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका १६ विद्यार्थीको ज्यान लिने दुर्घटना

६ पुस, काठमाडाैँ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १६ पुगेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । १० जनाको जिवितै उद्धार गरिएको छ ।  सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको छ । रातको समय भएकाले उद्धारमा समस्या अाएको प्रहरीले जनाएको छ ।

१० जनाको जिवितै उद्धार गरिएको छ । उनीहरूको राप्ति अञ्चल अस्पतालमा उपचार भैरहेको छ । घाइतेको विवरण यस्तो रहेको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार उपचार भैरहेका घाइतेहरूमा जुम्लाको तातोपानी गाउँपालिका १४ का १८ वर्षीय हिमाली हमाल, जुम्लाकै चन्दननाथ गाउँपालिका वडा नम्बर ३ का १६ वर्षीय कुशेन्द्र खत्री रहेका छन ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरकी १५ वर्षीया समिक्षा रोकाय, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय ब्रकम भण्डारी, रूकुमको त्रिवेणी गाउँपालिका २ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङकै घोराही उपमहानगरपालिका वडा नम्बर १९ स्यूजाका १७ वर्षीया मेनुका रिजालको राप्ति अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

गम्भीर घाइते भएकाले थप उपचारका लागि नेपालगञ्च रिफर गरिएकाहरूमा जुम्लाको चन्दननाथ गाउँपालिकाकै वडा नम्बर २ का १७ वर्षका जीवन भण्डारी, सोही ठाउँका १६ वर्यीया पर्शा रोकाया, अछाम मंगलसेनका १९ वर्षीय यूवराज ढुंगाना र रूकुमको सानिभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन रहेकी छिन ।

सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थी चढेको बस बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने भीरबाट सातसय मिटर तल झरेको थियो । तस्बीरहरूः दीपक बोहरा रासस ।

प्रकाशित मिति : 20:39