नुवाकोटका गाउँमा यसरी पस्यो भारत, २३ हजार घर निर्माण गर्दै
५ चैत, नुवाकोट । भूकम्पपीडितको निजी आवासको सुरक्षित पुनर्निर्माणमा सघाउनका लागि नेपाल आवास पुनर्निर्माण परियोजना शुरु भएको छ ।
परियोजनाले जिल्लामा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजीकरण गर्नेछ । भारतीय सहयोगमा युनोप्सले सञ्चालन गरेको परियोजनाको सोमबार सदरमुकाम विदुर नगरपालिका–९, डिही बजारकी मनदेवी शाक्यलाई निःशुल्क नक्शा प्रदान गरी सेवा आरम्भ गर्दै नेपालका लागि भारतीय राजदूतावास, पुनर्निमाण विभाग प्रमुख सुचिता किशोरले भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि परियोजना सञ्चालन गर्न लागिएको बताउँदै परियोजना सफल बनाउन सबैको सहयोगको खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भूकम्प गएको ३५ महिना बितिसक्दा समेत पीडितको आवास पुनर्निर्माण हुन नसकेको कारण अब स्थानीय तहले चासो दिएर आआफ्नो क्षेत्र भित्रका लाभग्राहीलाई सेवा दिनुपर्ने बताउनुभयो ।
परियोजनामा ५६ प्राविधिक इञ्जिनीयरमार्फत भूकम्प प्रतिरोधी २३ हजार ८८ घर निर्माणमा सचेतीकरण, स्थानीय तहसँग सहजीकरण र प्राविधिक सहयोग गरिने कार्यक्रम संयोजक प्रेमकान्त झाले बताउनुभयो ।
परियोजना विदुर नगरपालिका र साविकका गाविस बर्सुन्चेत, किम्ताङ, सामरी, दाङ्सिङ, खड्गभञ्ज्याङ, गोस्र्याङ, कल्याणपुर, देउराली, बुङ्ताङ, चारघरे, जिलिङ, मनकामना, बागेश्वरी, खानीगाउं, मदानपुर, खरानीटार, सुन्दरादेवी र बालकुमारीमा सञ्चालन हुनेछ ।
प्रकाशित मिति : March 19, 2018 at 8:14 pm









