एनआईसी एशिया बैंकले ८० करोड ३१ लाख ११ हजार सात सय रुपैयाँको बोनस शेयर बितरण गर्ने
५ पुस, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले ८० करोड ३१ लाख ११ हजार सात सय रुपैयाँ बोनस शेयर वितरण गर्ने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडले बुधबार ललितपुर सानेपास्थित हेरीटेज गार्डेनमा भएको २१ औँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले बोनस शेयर वितरण गर्न सोमा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात चार करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय समेत गरेको छ।
उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी आठ अर्ब चार करोड लाई वृद्धि गरी आठ अर्ब ८४ करोड बनाउन, साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड ११ लाख १६ हजार नौ सय ९८ लाई वृद्धि गरी आठ अर्ब ८३ करोड ४२ लाख २८ हजार छ सय ९८ बनाउन स्वीकृत प्रदान गरेको छ।

साधारण सभाले आ.व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्विकृत गरेको छ।
साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआईसी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ। सभाले चालु आ.व. २०७५/७६ को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।
प्रकाशित मिति : December 19, 2018 at 7:47 pm









