२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

अरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

२५ भदाै, काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ।

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्। निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका हुन्। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन्। सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापाको प्रमुख भूमिका रहेको छ।

‘घर बट इन अमेरिका’ को सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा भएको हो। सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ।सिरिजमा सहायक निर्देशन विवेक रसाइली, मेकअप अप्सरा कटुवाल, छायाङ्कन पशुपति बस्याल, सम्पादन मित्र डी. गुरुङ, कलर ग्रेडिङ मिलन बिक्रम शाह, र साउन्ड मिक्सिङ अमित श्रेष्ठको रहेको छ। सिरिजका गीतहरूमा अर्जुन कटुवालको सङ्गीत, निशान भट्टराईको स्वर, र डिपी खनालको शब्द रचना छ। कार्यकारी निर्माता रोशन घिमिरे हुन्।

सिरिजको पहिलो सिजनको केही भागको छायाङ्कन सकेर टिजर सार्वजनिक गरिएको हो, तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन। निर्देशक बिमलेश अधिकारीले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुङ्गो लगाइने जानकारी दिएका छन्।

प्रकाशित मिति : September 10, 2024 at 5:19 pm