१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अाफ्नै अामा बुबाकाे उमेर बढाएर बृद्वभत्ता खाने प्राविधिक सहायक प्रदीप ठाकुरबिरूद्द मुद्दा दायर 

३ पुस, काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र आमाको उमेर बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच वर्षदेखि बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी रु १० लाख ८४ हजार ९१४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भर्पाईमा आफैँले औँठाछाप लगाई रू नौ लाख ६२ हजार ९१४, सोही कार्यालयका सहयोगी राजकुमार महराले ६६ वटा भर्पाईमा आफँैले आँैठाछाप लगाई रू एक लाख २२ हजार गरी कूल रु १० लाख ८४ हजार ९१४ भ्रष्टाचार गरेको पाइएको छ । यस्तै आयोगले आजै प्राथमिक विद्यालय, कडहर्वा पिप्रा, सिरहाका प्रधानाध्यापक रामप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक यादवले शौचालय तथा मर्मत शीर्षकमा निकासा रकम, कर्मचारीको सञ्चयकोष र नागरिक लगानी कोष रकम एवं विद्यार्थीको नक्कली हस्ताक्षर गरी छात्रवृत्तिको रकमसमेत हिनामिना गरी रु पाँच लाख ५१ हजार ६८४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगका अनुसार विद्यालयको भौतिक निर्माणतर्फ रू तीन लाख ४१ हजार ४४ छात्रवृत्ति वितरणबाट बाँकी रहेको रू दुई लाख १० हजार ६४० भ्रष्टाचार गरेको देखिएको छ ।

त्यस्तै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह (खुला) को अहेब पदको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीलाई लोक सेवाको परीक्षाको अन्तर्वार्तामा उत्तीर्ण गराइदिन्छु भनी पौडेलले रु एक लाख घुस मागेको अभियोग लागेको छ ।

प्रकाशित मिति : December 18, 2018 at 5:51 pm