निर्मला हत्या प्रकरणकाे छानबिन गर्न गठित टोलीले आईजीपी खनाललाई बुझाए ५३२ पृष्ठको प्रतिवेदन
२ पुस, काठमाडौँ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोलीले आईजीपी खनाललाई ५३२ पृष्ठको निश्कर्ष बुझाएकाे छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा गठित टोलीले आफ्नो निश्कर्षसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको हाे ।

बलात्कारपछि हत्या प्रकरणको छानबिनमा विभिन्न टोली खटिइरहँदा फरकफरक तथ्य बाहिर आउन थालेपछि स्थिति झन् विग्रन सक्ने आँकल गर्दै समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेको थियो । तर, प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुन थालेपछि ५ सय ३२ पृष्ठको प्रतिवेदन बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त १० साउनदेखि हराएकी थिइन् । भोलिपल्ट घरबाट करिब दुई किलोमिटर टाढा रहेको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको प्रहरीले अझैसम्म पहिचान गर्न सकेको छैन ।
प्रकाशित मिति : 18:51







