विवाह भोज खाएर सुतेका तीन जना मृत भेटिए, कमसल रक्सीकाे सेवनले ज्यान गएकाे अाशंका
२ पुष, रुकुम । रुकुम पश्चिम मुसिकोटमा विवाह भोज खाएर सुतेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा विवाहको भोज खाएका तीनजना सुतेकै अवस्थामा मृत फेला परेका हुन्।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नम्बर १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय अमर बिकका छोराको विवाहमा गएका उनीहरु सुतेको स्थानमै सोमबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्काले जानकारी दिए । ‘सुतेकै अवस्थामा तीनजना मृत भेटिएका छन्, कमसल रक्सी सेवनका कारण घटना भएको अनुमान छ,’ खड्काले भने, ‘शव परीक्षणका लागि अस्पताल पठाउँदैछौँ ।’ प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि सबै कुरा थाहा हुने बताएको छ ।
प्रकाशित मिति : December 17, 2018 at 11:55 am







