१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो कर्तव्य हाेः मन्त्री थापा

१ पुस, काठमाडौँ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ ।

स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताउनुभयो ।

निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या समाधान हुने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिनुभयो ।

मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या समाधानका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी स्थानीय तहले संयन्त्र गठन गरी अघि बढ्पर्ने सुझाव मन्त्री थापाले दिनुभयो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सबैसँग मनोरञ्जन र सत्कार क्षेत्रमा काम गर्न बौद्धिक क्षमता नहुने भन्दै, सकारात्मक रूपमा प्रस्तुत गरिने सबैको क्षमतालाई राष्ट्र र समाजले सम्मान गर्नुपर्ने धाराण राख्नुभयो ।

आयोजक संस्थाका कार्यक्रम प्रमुख रीतु भट्टराईले काठमाडौँ उपत्यकामा मात्रै एक लाख महिलाले मनोरञ्जन र सत्कारको क्षेत्रमा काम गर्ने गरेको जानकारी गराउनुभयो । नेपालका कूल श्रमिकमध्ये ७८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको पनि भट्टराईले जानकारी गराउनुभयो ।

दोहोरी साँझमा काम गर्ने रीता लिम्बूले परिचयपत्र नभएकाले सरकारले श्रमिकका लागि तोकेको पैसा नपाएको गुनासो गर्नुभयो । लिम्बूले आफ्नो कामलाई मर्यादित पेशाको रूपमा लिन सबैसँग आग्रह गर्दै सरकाले तोकेअनुरुप पारिश्रमक श्रमिकले पाएका छन् कि छैनन् भनी नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : December 16, 2018 at 4:32 pm