७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

सीमा नाकाबाट ६ चेलीको उद्धार एक दलाल प्रहरी नियन्त्रणमा

५ चैत, कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा सीमा नाकाबाट प्रहरीले ६ चेलीको उद्धार गरी एक दलाललाई निएन्त्रणमा लियको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको हो ।सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी छ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ ।

ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायको सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ । यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०९:४१