३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

२० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १५ महिनाको आयात धान्न पुग्ने

२ भदौ, काठमाडौँ । विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि  हुँदा विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार २०८० असार मसान्तको तुलनामा विदेशी विनियम सञ्चिति ३२.६ प्रतिशतले धेरै हो ।

२०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले बढेर १५ अर्ब २७ करोड कायम भएको छ ।

dainiki.com

यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन ९जीडीपी० सँगको अनुपात ३५.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०८.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २९.३ प्रतिशत छ । २०८० असार मसान्तमा जीडीपीको अनुपात २८.८ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २५ प्रतिशत थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १५:१५