१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १४ निर्णय

३२ साउन, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएकाे छ  । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय शुक्रबार सार्वजनिक भएकाे हाे। बैठकले  परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भारत भ्रमण स्वीकृत गर्नेदेखि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिनेसम्मका विभिन्न निर्णयहरू गरेको हो।

पराष्ट्रमन्त्री डा. आरजु राणा आगामी भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रमलाई सरकारले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन ३१ गतको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे।

यस्तै, सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। उक्त ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न स्वीकृती प्रदान गरिएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ललितपुर महानगरपालिकालाई रुसी महासङ्घको उलान उदेनगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजत चालु आर्थिक वर्षका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत माहुत प्रेमलाल बछार चौधरी पक्षघात भई कामकाज गर्न असमर्थ भएकाले सेवा अवधि थप गरी अवकाश दिइएको छ। निजामति सेवा ऐन, २०४९ अनुसार, चौधरीको ६ वर्ष चार महिना सात दिन समयावधि थप गरी अवकाश दिइएको छ। अवकाश मिति भने २०८० पुस ५ गतेदेखि लागू हुने गरी निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयाे।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १७:३८