१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

१२ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने सप्तरीका रमाकान्त चौधरी चार वर्षका लागि जेलमा

२८ मंसिर, सप्तरी । १२ वर्षीया बालिका माथि बलात्कारको प्रयास गर्ने सप्तरीका रमाकान्त चौधरी चार वर्षका लागि जेलमा परेका छन ।सप्तरीको सुरूङ्गा नगरपालिका वडा नम्बर–४, मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतबाट १६ महिनाअघि धरौटीमा रिहा भएका आरोपितविरुद्धको अभियोग दाबी पुगेको भन्दै जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

जिल्ला अदालतकै आदेशमा चौधरी ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखेर तारेखमा रिहा भएका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ साउन १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

सुरूङ्गा नगरपालिका ४ मा रहेको हरिनारायण चौधरीको फूलबारीमा ०७४ साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले आरोप थियो । आरोपितले भने फूलबारीमा नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : December 14, 2018 at 11:45 pm