अस्पतालमा बन्धक शव आफन्तलाई जिम्मा लगाउन मन्त्रालयको निर्देश
२७ मंसिर, विराटनगर । रकम बुझाउन नसक्दा अस्पतालमा नै बन्धक राखिएको शव परिवारलाई बुझाउन विराटनगरको नोबेल मेडिकल कलेजलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
३२ बर्षका मिश्रको उपचारमा लागेको खर्च बुझाउन नसक्दा अन्तिम संस्कारकालागि अस्पतालले शव नदिएको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि मन्त्रालयले अस्पतलालई शव जिम्मा लगाउन निर्देशन दिएको हो ।
पाँच महिनायता उपचार गाइरहेका मिश्रको मंगलबार मृत्यु भएको थियो । उपचारको बिल तिर्न नसक्दा अस्पतालले शव नदिएको भन्दै श्रीमती अनिता मिश्रले गुनासो गरेकी थिइन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका हुन् ।
महाशाखा प्रमुख दिपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरी शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिए । समाचारले मन्त्रालयको ध्यानाकर्षण भएको बताउदै सिंहले उपाध्यायलाई टेलिफोन गरी निर्देशन दिएको बताए ।
गत साउन २ गते दुर्घटनामा परेका मिश्रको मंगलबार उपचारकै क्रममा मृत्यु भएको थियो । करिब पाँच महिना उपचारपछि मृत्यु भएपछि अस्पतालले मिश्रको शव आफन्तलाई दिएको थिएन । उपचार खर्च साढे तीनलाख रुपैयाँ नबुझाए सम्म फिर्ता नदिने बताउदै रोकेर राखेको थियो ।
मन्त्रालयको निर्देशनपछि मेडिकल कलेजले शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाउने तयारी गरेको छ ।
प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १३:११