१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित हुनेछ: उपमहासचिव शर्मा

१७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उहाँले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष  आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताउनुभयो ।

सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो, “द्वन्द्वपीडितलाई न्याय, परिपूरण र  मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्वपूर्ण सहमति भएको छ ।”

नेता शर्माले भन्नुभयो, “सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।”

उहाँले यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उपमहासचिव शर्माले यस क्रममा सल्लाह–सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सबै र महत्वपूर्ण कामको जिम्मेवारी दिनुहुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिनुभएको छ । प्रमुख तीन दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आज सहमति जुटेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १३:४१