१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, यस्ताे छ पुरस्कारकाे राशी

२६ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा –२०७५’ को सुभारम्भ गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमको सुभारम्भ गर्दै मेयर शाक्यले सरकारले अघि बढाएको ‘खुशी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताउनुभयो । ‘खुशी नेपाली समृद्ध नेपालको नारा जसले बनायो उसको मात्रै होइन । समृद्ध नेपाल हामी सबैको चाहना हो,’ मेयर शाक्यले भन्नुभयो, ‘हामी सबैले त्यो नारालाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । राष्ट्र समृद्ध भयो भने मात्र हामी सुखी र खुशी बन्छौँ । सुखी र समृद्ध नेपाल बनाउनका लागि काठमाडौँ महानगरपालिका पनि समृद्ध हुनुपर्छ । काठमाडौँ समृद्ध बनाउन युवा र विज्ञहरुले पनि साथ दिनुपर्छ ।’

उहाँले समृद्ध महानगरपालिका बनाउन युवा र विज्ञहरुको समेत साथ लिएर महानगरपालिका अघि बढेको बताउनुभयो । ‘सकारात्मक सोँचका साथ अघि बढ्ने हो भने सबै सफल बन्न सकिन्छ,’ उहाँले महानगरपालिकालाई परिवारको संज्ञा दिदैँ भन्नुभयो, ‘एउटा घर–परिवार सफल बनाउन आमा–बुवा अथवा अविभावको जस्तो भूमिका हुन्छ ।

महानगर सफल बनाउन पनि हामी जनप्रतिनिधिको त्यस्तै भूमिका हुनुपर्छ । महानगरको विकासका लागि एउटै सोँच लिएर हामी हिड्ने हो भने असम्भव केही छैन । हामी नै नमिल्ने हो भन अशान्ति हुन्छ । अस्तव्यस्त हुन्छ र विकासको गति अघि बढ्दैन ।’

उहाँले काठमाडौँ महानगरपालिका मुलुककै राजधानी भएको भन्दै यहाँ करीब पचास लाख मानिस बसोबास गर्ने भएकाले सुन्दर महानगर बनाउने चाहना मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र कर्मचारी मात्रै नभई सबैको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वोलीमा मात्र होइन काममै स्मास्र्ट सिटी बनाउने अभियानमा महानगरपालिका लागेको पनि बताउनुभयो । ‘महानगरपालिकामा हामीले जितिसकेपछि धेरै–नीति तथा कार्यक्रममा पनि स्मार्ट शब्द प्रयोग गरेका छौँ ।

कानुनको पाटोबाट त्यो अघि बढेको छ । तर, व्यवहार र कार्यान्वयनमा उतार्न चाँहि केही समय लाग्ने रहेछ,’ उहाँले भन्नुभयो, ‘हामी काम गर्न चाहन्छौँ । तर त्यसलाई परिपक्क बनाउन केही समय लाग्ने रहेछ । नीति–कार्यक्रम मात्र राम्रो भएर हुँदैन त्यसको कानुनपक्ष सबै भन्दा स्मार्ट र मजबुत हुनुपर्ने रहेछ । अहिले स्वदेशमा काम गर्ने वातावरण नभएर युवा विदेश पलाएन हुनु पर्ने वाध्यता छ । करीब तीन करोड नेपाली अहिले नेपालमै केही गरेर बसेका छन् ।

विदेश पलाएन भएका युवाले स्वदेशमा केही गर्ने वातावरण नभएपछि विदेश पलाएन भएको भन्ने गरेका छन् । कम्तिमा पनि त्यो आरोपको अन्त्यका लागि काठमाडौँ महानगरपालिकाले केही गर्न सक्छ कि भनेर यो सुरुवात गरेका छौँ ।’ उहाँले प्रविधि, ज्ञान र सीपको प्रतिस्पर्धा गरेर त्यो प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनेलाई केही पुरस्कारको पनि व्यवस्था गरेको बताउनुभयो ।

उपमेयर हरिप्रभा खड्कीले पनि सबै मिलेर महानगरको विकासमा अघि बढनु पर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले स्मार्ट महानगर बनाउने सबैको चाहना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाहरुको विदेश पलायन हुने समस्यालाई समाधान गर्दै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्ने दिशातिर यो अभियानले लैजाने दाबी गर्नुभयो ।

उहाँले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन र प्रश्रय दिई प्रविधिमैत्री व्यापारशैली अबलम्बन गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशमै बसी उद्धमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्म विकास गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले यो प्रतिस्पर्धाबाट क्षमतावान वेरोजगार युवाहरुलाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । ‘स्वदेश तथा विदेशमा हाँसिल गरेको नविन ज्ञान, सिप, प्रविधि एवं कला–कौशललाई आफ्नै जन्मभूमिको माटोमा सिञ्चित गरि स्वाधिन अर्थतन्त्र निर्माण गरि राज्यको सुखी नेपाली समृद्ध नेपाल निर्माणको आकाक्षा पुरा गर्नेछ’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारको तहबाट स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गर्ने यो हाम्रो पहिलो प्रयास हो ।

यो कार्यक्रम काठमाडौंको समस्याहरुको पहिचान गरी तिनलाई निराकरण गर्ने नवीन तथा प्रविधिमैत्री उपायहरुको खोज तथा संकलन गर्ने, नविन प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तन गरी आधुनिक, सभ्य र सुसंस्कृत महानगर निर्माण गर्ने उपयुक्त प्रविधि भित्रयाउने अपेक्षासहित आयोजना गरेको उहाँले बताउनुभयो ।

विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने, काठमाडौ.महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने, काठमाडौंको सहरी समस्या समाधान गर्न सक्ने प्रविधिमैत्री स्टार्टअप उद्यमशीलतालाई प्रबद्र्धन गर्ने जस्ता लक्ष्य पनि कार्यक्रमले लिएको छ ।

६ महिनासम्म चल्ने यो कार्यक्रमले नविन सोचलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयनयोग्य बनाउनका लागि उपयुक्त वातावरण निर्माण गर्ने , महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने जस्ता लक्ष्य पनि लिएको छ ।
यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मूख्य ४ विषयहरु समेटिएको छ भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोँचहरु प्रस्तुत गर्न महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिस्पर्धालाई विभिन्न ६ चरणहरुमा विभाजन गरी सम्पन्न गरिनेछ । सबै चरणहरुमा प्रतिस्पर्धीहरुको छनौट गर्दा विषयको महत्व, उत्पादन क्षमता, ब्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारमा तोकिएको मापदण्ड अनुसार मूल्यांकन गरी मूल्यांकनबाट प्राप्त कुल अंक मध्ये सबैभन्दा बढी अंकलाई आधार मानि प्रतिस्पर्धीहरुलाई विजेताको रुपमा घोषणा गरिनेछ ।

प्रतिस्पर्धामा पहिलो चरणमा कम्तिमा १०० वटा नविन सोच भएका युवाहरुका समूहहरुलाई छनौट गरि विज्ञ समूहबाट करिब ३ महिना नियमित मेन्टरिङ्ग तथा तालिम दिई उनिहरुको सोँचमा निखारता
ल्याईनेछ । छनौट भएका १०० प्रतिस्पर्धीहरु मध्येबाट ४ विषयका २४ वटा प्रतिस्पर्धी समूहलाई फाईनलको लागि छनौट गरि अर्को विशिष्ट चरणको तालिम प्रदान गरिनेछ ।

तालिम सकिएपछि २४ प्रतिस्प्रधीहरुलाई समुहगत रुपमा फाईनल चरणको छनौटमा सहभागी गराइनेछ । यसरी प्रतिस्पार्धामा उत्कृष्ट ठहरिएका नविन सोचहरुलाई निम्नानुसार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
पुरस्कार राशीयस्तो छ ।
च्यालेन्ज विजेता (समूहगत विजेता मध्ये एक) – रु ५,००,०००
विषयगत विजेताः– समुदायतथा वातावरण – रु २,००,०००
विषयगत विजेताः– सहरी पूर्वाधार – रु २,००,०००
विषयगत विजेताः– महानगरीय सामुदायिक सेवा – रु २,००,०००
विषयगत विजेताः– महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन – रु २,००,०००
विषयगत उपविजेताः– समुदाय र वातावरण – रु १,००,०००
विषयगत उपविजेताः– सहरी पूर्वाधार – रु १,००,०००
विषयगत उपविजेताः– महानगरीय सामुदायिक सेवा – रु १,००,०००
विषयगत उपविजेताः– महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन– रु १,००,०००

प्रकाशित मिति : 19:33