१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्रदेश ३ काे राजधानी तत्काल तोकिँदैनः मुख्यमन्त्री पौडेल

२६ मंसिर, काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् ।” हामीलाई कानूनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानून बनाउनको लागि प्राथमिकता दिएका थियौँ ।” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानून छिटो बनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “हामीले २५÷२६ वटा कानून बनाइसक्यौँ । त्यो प्रमाणित पनि भइसकेको छ । त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन ।”

साझा अधिकारका केही कानून पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै उहाँले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानून केन्द्रले बनाउनुपर्ने बताउनुभयो ।

कानूनको समस्याले गर्दा कर्मचारी भर्ना गर्न नपाइएका र करारमा पनि कर्मचारी राख्न पाउने व्यवस्था नभएका कारण कार्य सम्पादनमा ढिलासुस्ती भएको स्वीकार्दै उहाँले भन्नुभयो, “सबै जिल्लामा कार्यालय गठन गरेर काम सञ्चालन ग¥यौँ । आवश्यक संरचना निर्माण भइसकेका छन् । १३ वटै जिल्लामा विकास निर्माणका काम शुरु भइसकेका छन् ।”

उहाँले हालै काठमाडौँमा सम्पन्न अन्तर प्रदेश परिषद्को बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले साझा समस्या प्रधानमन्त्रीसँग राखेको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : December 12, 2018 at 4:42 pm