कृष्णमानलाई क्लिन चिट ! संसदीय समितिले अस्वीकृत नगरी नाम फिर्ता गराइयो
१४ साउन, काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई चोरबाट उन्मुक्ति दिइएको छ । गम्भीर नैतिक विचलनको समस्या देखिएका प्रधानलाई संसदीय समितिबाट अस्वीकृत नगरी नाम फिर्ता गराइएको छ । यौन शोषणसँग सम्बन्धित चारवटा उजुरी परेपछि समितिमा त्यसका बारेमा गम्भीर छलफल भएको थियो ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसकिने तर अस्वीकारको साटो नाम फिर्ता लिन सुझाव दिएपछि प्रधानले संसद सचिवालयमा नाम फिर्ताको लागि निवेदन दिएका छन ।
संसदीय समितिमा सुनुवाइ भैसकेको विषयमा निर्णय गर्ने बैठक सारेर प्रधानलाई क्लिन चिट दिने चोरबाटो अपनाएर समितिले समेत गम्भीर भुल गरेको छ । संसदीय समितिबाट अस्वीकृत भएको भएको अवस्थामा प्रधानको भोलिको भविष्य थप अन्योलग्रस्त हुनेथियो । त्यही बाटोबाट जोगाउन चोरबाटो प्रयोग गरी प्रधानलाई उन्मुक्ति दिइएको छ।

प्रधानलाई नाम फिर्ता लिने अवसर दिनका लागि संसदीय समितिको बैठक अपरान्ह ५ बजेका लागि सारिएको छ । अनुमोदन नहुने निश्चित भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए ।
प्रधानले नाम फिर्ता लिएको जानकारीसहितको निवेदन समितिमा दर्ता भएको छ । संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति संसदीय समितिबाट ठाडै अस्वीकृत हुँदा त्यसले संवैधानिक परिषदमाथि नै गम्भीर प्रश्न उठ्ने, प्रधानको भोलिको भविष्यमा प्रश्न उठ्ने भएकाले उनलाइ निर्णय हुनुअघि नाम फिर्ता गर्न लगाइएको हो ।

प्रकाशित मिति : 14:29









