३८ करोडको भ्रष्टाचार मुद्दा खेपीरहेका बैकुण्ठ अर्याल ५० हजारमै छुटे
१३ साउन, काठमाडाैँ । ३८ करोड ६७ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल ५० हजार रूपैयाँ धराैटीमै छुटेका छन । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई अाइतबार ५० हजार रुपैयाँ धरौटीमा छाडिदिको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले वयान लिएपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेर छाडेको हो । अर्याल अदालतले मागेको ५० हजार रूपैयाँ बुझाएर घर गएका छन । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अर्याल ५० हजार रूपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएको जानकारी दिए ।
अख्तियार दुरूपयोग अनुसन्धान अायोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएका अर्यालविरूद्ध सञ्चार मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
इतिहासमै पहिलोपटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर अहिले त्यसको सुनुवाइ भैरहेको छ । आयोगले अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा ३८ करोड ६७ लाख भ्रष्टाचार गरेको अभियोगमा अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा दुईजना बहालवाला सहसचिव समेत रहेका छन ।
अन्तःशुल्क खरिद प्रक्रियामा मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । ‘प्रतिवादीहरूको आपसी मिलेमतो र संलग्नतामा आफूहरूलाई लाभ पुर्याउने र सार्वजनिक संस्था केन्द्रलाई ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरे गराएको…’ अख्तियारको आरोपपत्रमा छ । यसैलाई बिगो कायम गरेर अख्तियारले प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति : July 28, 2024 at 7:25 pm









