९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रचारप्रसार नहुँदा ओझेलमा ऐतिहासिक सुन्दरादेवी मन्दिर

१२ साउन, काठमाडौँ । यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो ।

शान्तिनगर गाउँपालिका–३ सुकेकोटमा रहेको उक्त मन्दिरको लामो इतिहास भए पनि त्यसलाई प्रचारप्रसार गर्न नसकिएको स्थानीय अर्जुन विकले बताउनुभयो । उहाँका अनुसार १८५४ सालमा स्थापना भएको उक्त मन्दिरमा दर्शन गरेमा मनोकामना पूरा हुने गरेको छ ।

त्यहाँ सुन्दरादेवीको बास रहेको किम्बदन्ती छ । त्यसले गर्दा पनि सोही क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण रहेको विकले बताउनुभयो । मन्दिर लेकमा रहेको र वरपरको हराभरा जङ्गलले गर्दा पर्यटकलाई मन्दिर आकर्षणको केन्द्र बन्ने गरेको छ । त्यहाँबाट सिस्ने, मुक्तिनाथ, धौलागिरि, माछापुच्छ्रे, जलजलालगायतका हिमाल देख्न सकिन्छ ।

“सुन्दरादेवीले बास गरेको भएर यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “त्यति मात्रै होइन्, यहाँबाट विभिन्न हिमाल, तराई, पहाड सबै हेर्न सकिन्छ, त्यसले गर्दा पनि यहाँ पर्यटनको केन्द्र बन्न सक्छ ।”

त्यस्तै दाङका प्रमुख बजार घोराही, तुलसीपुर, नारायपुरलगायत दाङको सम्पूर्ण भूभागको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको छ । त्यहाँ दसैँको पञ्चमीदेखि अष्टमीसम्म वर्षमा दुई पटक मेला लाग्ने गरेको मन्दिरका पुजारी लोकप्रसाद उपाध्याले बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाबाट सोही मन्दिर पुग्न ११ किलोमिटर छ । सडक पक्की भने हुन सकेको छैन । सडक पक्की भए आधा घण्टामै पुग्न सकिने भए पनि अहिले एक घण्टाको बाटो हिँड्नुपर्छ । जुम्लेकुलाबाट सुकेकोट पुग्नका लागि बहुवर्षीय ठेक्कामा गएर काम पनि भइरहेको छ । त्यो सडकले पूर्णता पाएमा सहज हुने बताइएको छ ।

हाल यस स्थानमा मन्दिरसहित एउटा धर्मशाला निर्माण भएको छ । यस मन्दिरको संरक्षण, सम्वर्द्धन र विकासमा स्थानीय सरकार र राज्यको ध्यान पुग्न नसक्दा यसको महत्व ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ सडक नपुग्दासम्म प्रचार प्रसार हुन नसक्ने स्थानीयको भनाइ छ ।

यो पालिकाको मात्रै नभइ समग्र दाङको पर्यटकीय क्षेत्र बन्न सक्ने भन्दै यसलाई प्रचार गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । सोही ठाउँमा तत्काल घरबासे निर्माण गर्ने तयारी रहेको  उहाँको भनाइ छ । त्यस्तै प्याराग्लाइडिङको सम्भावना अध्ययन एवं परीक्षण गर्नेसमेत तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सोका लागि निजी क्षेत्रसँग समन्वय गर्ने तयारी रहेको छ ।

यस आर्थिक वर्षका लागि सुन्दरादेवी मन्दिरमा पूर्वाधार विकास निर्माण गर्न रु १० लाख बजेट परेको छ । लुम्बिनी प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताउनुभयो । उहाँका अनुसार सोही मन्दिरलाई पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : July 27, 2024 at 2:38 pm