व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण
११ साउन, काठमाडौँ । तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।
खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । “अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ”, उहाँले भन्नुभयो ।
नागरिक सहायता कक्ष
त्यसैगरी व्यास नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरी सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्करुपमा सेवा दिन थालेको छ । व्यास नगरपालिका मातहत रहेका चौधवटै वडामा नागरिक सहायता कक्ष स्थापना गरी सेवा दिन थालिएको हो ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निवेदन, कार्यालय प्रयोजनका लागि प्रयोग हुने कागजातको फोटोकपी गरिदिने व्यवस्था नगरपालिकाले गरेको छ । सेवाग्राहीलाई सूचना प्रवाहमा सहजीकरण गरी सेवा दिने गरेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १७:१७