अनुमति नलिई सन्चालन गरेकाे बेकरी क्याफे बन्द
२५ मंसिर, काभ्रेपलान्चाेक । नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ ।

अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनुमतिबिना सञ्चालन गरिएको भकुण्डेमा रहेको सो बेकरी बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अनुमति नलिएसम्मका लागि उत्पादन, बिक्री वितरणमा रोक लगाएका छौँ ।” सहायक प्रजिअ थापा, विभागको जिल्लास्थित डिभिजन कार्यालयका खाद्य निरीक्षक शिव भण्डारी, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, नपाका प्रतिनिधि, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि तथा प्रहरी सम्मिलित टोलीले नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेको रु पाँच हजार बराबरको कोक, पेप्सी, स्प्राइट पेय पदार्थ नष्ट गरिएको छ । एघारै वटा होटलले मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाइएकाले होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिइएको सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।
टोलीले भकुण्डेका तीनवटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले तीन दिनभित्र अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : December 11, 2018 at 12:32 pm









