२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

प्याव्सनको कविता प्रतियोगितामा वास्तविक श्रष्टाको हुर्मत

९ साउन, काठमाडाैँ । सन्दर्भ असार २९ गते, भानु जयन्तीको हो। जुन अवसरमा नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनको काठमाडौं जिल्ला समितिले प्रज्ञा प्रतिष्ठानको सिध्दिचरण हलमा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरेको थियो। जसमा जिल्लाका ४९ विध्यालयका एक/एक जना विद्यार्थी सहभागी थिए। प्रतियोगिताको स्वरुप थियो की त्यहाँ शुरुमा २ घण्टा प्रशिक्षण दिइनेछ त्यसपछि त्यहीँ दिइएको विषयमा विद्यार्थीहरुले निश्चित समयमा कविता लेख्नुपर्नेछ। अन्त्यमा नतिजा घोषणा गरी पुरस्कार वितरण गरिनेछ।

उद्घाटन समारोहको अध्यक्षता कवि एवं गीतकार समेत रहेका प्याव्सन काठमाडौंका अध्यक्ष प्रेम राई प्रेक्षित र समापन समारोहको अध्यक्षता प्यव्सन केन्द्रीय अध्यक्ष डीके ढुङ्गानाले गरेका थिए। प्रशिक्षण दिने र विषय छनोट गरेका थिए प्रसिध्द छन्द कवि डा. देवी नेपालले। निर्णायकमा थिए साहित्यकार प्रा. डा. शैलेन्दु प्रकाश नेपाल, साहित्यकार डा. अम्विका अर्याल र साहित्यकार ज्योती जंगल।

करिक १० घण्टा चलेको सो कार्यक्रम यसो हेर्दा राम्रै सँग सम्पन्न भयो। तर नतिजा भने विल्कुलै विवेकहिन र योजनावद्ध आयो । प्रशिक्षक देवी नेपालले निकै मेहनत र कुशलतापूर्वक प्रशिक्षण सम्पन्न गरे र विषय दिए तर उनले दिएकासँग नजिक रहेका तर भाव फरक भएका विषयमा घरैबाट कण्ठ गरेर आएर लेखिएका कविताहरु पुरस्कृत भए र त्यहीँ विषय भित्र रहेर इमानदारीपूर्वक लेखिएका कविताहरु पछाडि परे।

घरमा अरु शिक्षक या अभिभावकले लेखिदिएका कविताको अगाडि त्यहीँ लेखिएका कविता केही कमजोर त हुने नै भए। तर अचम्मको कुरा यो हो की कविता राम्रो लाग्दैमा तोकिएको भन्दा फरक विषयमा लेखिएकालाई पुरस्कृत कसरी गरियो? जस्तै एउटा विषय थियो भानुभक्त र भाषा। तर भानुभक्तको गुणगान मात्र गाएर लेखिएका कविता कसरी उत्कृष्ट हुन्छन ? त्यसमा भाषामा उनले गरेको योगदान मुख्य हैन ?

dainiki.com

अर्को विषय थियो स्वदेशमैं रमाउँ। यसमा पनि देशको वर्णन मात्र गरिएका कविता कसरी उत्कृष्ट हुन्छन ? देश छोडेर विदेश नजाउँ भन्ने आग्रह समेटिएका कविताको त्यहाँ कुनै मुल्याङ्कन भएन। किनकी ती इमानदारीपूर्वक विषय भित्र लेखिएका थिए। जुन घर या विद्यालयमा अरुले सिकाएर रटाएका भन्दा स्वभाविक रुपमा कमजोर हुने नै भए। यति सामान्य कुरा निर्णायकले सोच्न सकिन्न? यसमा आयोजकको निगरानी चाहिन्न?

हुनत पुरस्कृत कवितालाइ लिएर आएका शिक्षक र अभिभावकको चहलपहल त्यहाँ शंकास्पद र अस्वभाविक नै देखिन्थ्यो। तर त्यसलाई स्वभाविक सम्झेर सँस्कारपूर्वक आफ्ना वालवालिकालाई विषय भित्रै रहेर नियमपूर्वक लेख्न लगाउने र लेख्ने स्वयम् विद्यार्थीलाई के थाहा शिक्षा र सँस्कार सिकाउने अगुवा नैं यतिसम्म गिर्न सक्छन्।

वालवालिका र शिक्षा जस्तो संवेदनशिल क्षेत्र त्यसमा पनि प्याव्सन जस्तो सँस्था आयोजक भएको कार्यक्रममा यो स्तरको सेटिङ या लापरवाहीले केही प्रश्न स्वभाविक रुपमा उब्जाएको छ। त्यति विवेक नभएका निर्णायक किन ल्याइयो? त्यो बेला १०/१० घण्टा बसेर तत्कालै श्रृजना गरेर पनि पछाडि पारिएका ती अवोध वालवालिकाको मानसिकतामा कस्तो असर पर्यो होला ? यसले समाजमा कुन सँस्कारको विकास हुन्छ ? गल्ती निर्णायकको होला तर यसको जिम्मा आयोजकले लिनु पर्छ की पर्दैन ?

आयोजक सँस्थाका अध्यक्ष प्रेम राई स्वयम् कवि हुन् तर उनले यस्ता कुरामा ध्यान नदिएको की योजना नै त्यही थियो ? के यो इमानदार सर्जकको श्रृजनशिलताको अपमान हैन ? भविष्यका कविको श्रृजनशिलताको बीज नैं नष्ट गरिएको र ती वास्तविक सर्जकलाई दुःखी बनइएको यो हर्कतले समाजमा के सन्देश दिन्छ ? प्याव्सन जस्तो सँस्था नैं यस्तो घृणित शैलीमा पक्षपातपूर्ण हर्कत गर्छ भने त्यसका सदस्य विद्यालयले कस्तो शिक्षा दिन्छन् ? ती विद्यार्थीको भविष्य कस्तो होला? के आयोजकले यसको सार्वजनिक जवाफ दिनु पर्दैन ?

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १५:४०