हत्या आरोपी बादशाह कुर्मी कांग्रेसको कोटामा लुम्बिनी सरकारको बिनाविभागीय मन्त्री
९ साउन, दाङ । हत्या आरोपी बादशाह कुर्मी नेपाली कांग्रेसको कोटामा लुम्बिनी प्रदेश सरकारको बिनाविभागीय मन्त्री नियुक्त भएर सपथ लिएका छन । नेकपा एमालेका नेता चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा कांग्रेसको कोटामा कुर्मी मन्त्रीमा नियुक्त भएका हुन । कुर्मीले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
नेपालगन्ज–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्युमा कुर्मीको भूमिका रहेको सरकारी छानविन समितिले नै प्रितवेदन दिएको छ । सहसचिव हिरालाल रेग्मी संयोजकत्वमा गृह मन्त्रालयले २०७८ सालको कात्तिक २ गते गठन गरेको रहेको छानबिन समितिले कुर्मीमाथि हत्या आरोपमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसमा कुर्मीसहित ८ जना रहेका थिए ।

२०७६ चैत १४ गते निर्मलाको भारतमा मृत्यु भएको शंकास्पद सूचना प्रहरीसमक्ष पुगेपछि उनको हत्या गरिएको आशंका गरेर अनुसन्धान सुरू भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा निर्मलाको हत्या भएको दाबीसहित २०७७ चैत २० गते अधिकारकर्मी रूवी खानसहितका स्थानीयले कांग्रेस नेता बादशाह कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मीला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।
कांग्रेस(माओवादीको गठबन्धनबाट कुर्मी बाँकेको निर्वाचन क्षेत्र नं. ३(२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : July 24, 2024 at 11:32 am









