१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

डोटीमा भेट्टियो अचम्मको परम्पराः एकै व्यक्तिले बाघलेजसरी ६४ वटा बोका टोकेर मारे

२५ मंसिर, डोटी । सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जंगली जनावर, भुत प्रेत, बाढी पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका ६ गीरीचौकामा जिउँदा ६४ ओटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एक जना झाँक्रिले ६४ वटा सम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिले सम्म कायमै रहेको छ । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ ।

झाँक्रिले बली चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन यसलाई त्यहाँका स्थानीयले दैवीय शक्तिका रुपमा निरन्तरता दिई आएको स्थानिय दिपक खड्काले बताउनु भयो ।

बाघकै शैलीमा दाँतले बोका काट्दा पहिलो बोका स्वयं देउता काप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानिय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । काँपेर बोका काट्ने झाँक्रिलाई डुणाबाघ देउताका रुपमा लिने गरेको अर्का स्थानिय स्याम रोकायाले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जंगली जनाबरको डर नहुने र मनोकामना पुरा हुने जनविश्वास भएकाले हामीले यो चलन राखिरहेका छौ ।’ अनौठो मानिने दैवीय शक्ति दर्शनका लागि भारतका बिभिन्न ठाउँ, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।

स्थानीय जनप्रतिनिध यो परम्परालाई सुदुर पश्चिम कै गौरपवूर्ण धार्मिक परम्परा ठान्छन् । मुलुकमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापुर्वकाल देखिनै चल्दै आएको स्थानिय बुढापाकाहरु बताउछन् । पहिले पहिले डोटीको गीरिचौकाबाट दांतले बोका काट्दै छिमेकी जिल्ला बझाङको पिपलकोट, मयलकोश र थलारा सम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गीरिचौकामा मात्रै सिमित छ ।

यसरी दाँतले बोका टोकेर छिनाल्दा आफूलाई दैवी शक्ति महशुश हुने र आफु मात्रै शक्तिशाली भएको महशुस हुने १८ बर्षको उमेर देखि दाँतले बोका काट्दै आएका झांक्री करनबहादुर थापा बताउनु भयो । उहाँले भन्नु भयो ‘दाँतले बोका काट्ने समयमा मलाई केही थाहा हुन्न तर शक्ति साली भएको र बल आएको मात्रै अनुभब हुन्छ ।’

परापूर्व कालमा गोठबाट बाघले बाघले खसि बोका खाईदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतंक मच्चाएपछि स्थानीयले आफुले पुज्ने गरेको तेडी देवता, धणी देवता संग जंगली जनावर बाट बचाउन हार गुहार मागेको स्थानीय सामाजीक अगुवाहरु बताउंछन् ।

त्यही समयदेखि तेडी देवता, धणी देवताको पुजा गर्ने क्रममा जंगली जवावरको आतंक रोक्न बचाइदिन तिन बर्षको एक पटक डुणांबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरुको भनाइ छ । यो समाचार विमल बिष्टले डोटीबाट अाजको नेपाल समाचारपत्रमा लेखेकाछन । 

प्रकाशित मिति : December 11, 2018 at 8:29 am