२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नबिल बैंकलाई एकसाथ तीन वटा अन्तर्राष्ट्रिय सहित ४ अवार्ड

७ साउन, काठमाडौं । नबिल बैंकले ४०औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै गर्दा एकसाथ तीन वटा अन्तर्राष्ट्रिय सहित चार वटा अवार्ड प्राप्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार ४० वर्षे अनवरत यात्रामा यस बैंकले धेरै उपलब्धि हासिल गरेको र नवीन प्रयोग र ग्राहकको सुविधामा ध्यान दिएकै कारण यस बैंकले अवार्ड प्राप्त गरेको भन्दै उनले कर्मचारी लगायत सबैलाई बधाई समेत दिए ।

नबिल बैंकले नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए), २०२३ प्राप्त गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ । यो अवार्ड बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरे ।

नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरे। बैंकले बेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ ।

नबिल बैंकले संयुक्त अधिराज्य (यूके) को ग्लोबल ब्रान्ड म्यागेजिनबाट यस वर्षको बेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको हो ।

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरूप नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर), युरोमनी अवार्ड फर एक्सिलेन्स, २०२४ पनि प्राप्त गरेको छ ।

बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको बेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड समेत हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना भएकाे यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो ।

नबिल बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्वमा पुर्‍याएको योगदान, गुणस्तरीय ब्रान्डिङका साथै साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनका कारण यी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए ।

प्रकाशित मिति : July 22, 2024 at 2:19 pm