१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

६ साउन, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् । आज प्रदेश सभामा विश्वासको मत माग्न लागेका मुख्यमन्त्री जम्कट्टेलले बहुमत नपुग्ने निश्चित देखिएपछि संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको नेकपा माओवादी केन्द्रका एकजना प्रदेश सभा सदस्यले बताए।

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा परेको छन् । केन्द्रमा नेकपा एमालेले कांग्रेससँगको साझेदारीमा सत्तारोहण गरिसकेको छ । सोही सहमतिअनुसार बागमती प्रदेश सरकारको भाग कांग्रेसको पक्षमा परेको छ ।

यता बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको हो । योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

प्रकाशित मिति : 14:10