सेमेष्टर लगाउने र प्राइभेट फर्म बन्द गर्ने कदम एकैपटक असम्भवः अनेरास्ववियु
२४ मंसिर, काठमाडाैँ । सत्तारुढ नेकपानिकट दुई विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्व विद्यालय सुधारका निम्ति उपकुलपतिलाई ज्ञापनपत्र बुझाएका छन् । त्रिविले सञ्चालन गर्दै आइरहेको प्राइभेट परीक्षा बिना विकल्प बन्द हुँदा धेरै विद्यार्थी मारमा पर्ने भएकाले तुरुन्त परीक्षा दिने व्यवस्था कायम गर्न आग्रह गर्दै विद्यार्थी संगठनहरुले सेमेष्टर लगाउने र प्राइभेट फर्म बन्द गर्ने कदम एकैपटक चाल्दा स्नातकोत्तर अध्ययन गर्न इच्छुक हजारौं विद्यार्थी मर्कामा परेको भन्दै यस्तो गलत निर्णय सच्याउन माग गरेका छन ।
त्रिविका पदाधिकारीहरुको गैरजिम्मेवार भूमिका नैं विश्वविद्यालय ध्वस्त बनाउने प्रमुख कारक रहेको उल्लेख गर्दै केन्द्रीय नेताहरूको उपस्थितिमा सोमबार ज्ञापनपत्र बुझाएको अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले दैनिकीलार्इ जानकारी दिए । उनले त्रिविको पाठ्यक्रम, अध्ययनविधि, शूल्क, परीक्षा प्रणाली, गुणस्तर, छात्रवृत्ति, शौचालय, ल्याब र खेलमैदान लगायतका विषयमा धेरैपटक छलफल गरेपनि अवस्था नफेरिएको ध्यानाकर्षण गराइएको बताए ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त हस्ताक्षर गरे बुझाएको ज्ञापनपत्रमा १७ वटा मागहरु समावेश गरिएका छन् । विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको मिति तत्काल सार्वजनिक गर्नुपर्ने, नीजि कलेजलाई सम्बन्धन दिँदा स्थापित मान्यताहरु आत्मसाथ गर्नुपर्ने, अनुसन्धान केन्द्रहरुको प्रभावकारिता बढाउनुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, मेडिकल शिक्षामा विद्यार्थीको सहज पहुँच बढाउनुपर्ने लगायतका मागहरु राखेका छन् ।


प्रकाशित मिति : 21:45









