९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सर्पको टोकाइबाट घाइते आचार्यको हेलिकप्टरबाट उद्धार

५ साउन, काठमाडौँ । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो । आज बिहान जिल्ला अस्पताल पुग्नुभएका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष ९एन्टी स्नेक भेनम० नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । “हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो”, उहाँले भन्नुभयो, “जिल्लामा सर्पदंशको उपचार नुहँदा समस्या भएको छ ।”

वर्षमा चार जनासम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनुभयो । “जिल्लामा हामीलाई सर्पदंश उपचार सेवा दर्ता छैन, अनुमति पनि दिएको छैन, अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै विषालु सर्पको विषविरुद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामीसँग उपलब्ध छैन ।”

जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकाहरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : July 20, 2024 at 3:44 pm