१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एडिलेडमा गर्भधारणदेखि अभिभावकत्वसम्मको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम हुने

एडिलेड (अष्ट्रेलिया) — अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी गर्भधारण (Pregnancy) देखि अभिभावकत्व (Parenthood) सम्म आउने मानसिक तथा भावनात्मक उतारचढाव सम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम १४ अगस्ट २०२६, शुक्रबार, दिउँसो ४:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म एडिलेडको स्थानिय मिचेल पार्क स्पोर्ट्स एन्ड कम्युनिटी सेन्टर हुने भएको छ ।

‘Navigating Emotional Roller Coaster from Pregnancy to Parenthood’ शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रम एनआरएनए साउथ अष्ट्रेलिया र एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको संयुक्त आयोजनामा हुन लागेको हो।

कार्यक्रममा राष्ट्रिय स्तरकी पेरिनेटल तथा इन्फ्यान्ट मेन्टल हेल्थ विज्ञ क्याथी बिशपले मुख्य प्रस्तोताको रूपमा सहजीकरण गर्नुहुनेछ। उहाँ Child and Family Health Services – South Terrace, Women’s and Children’s Network सँग आबद्ध हुनुहुन्छ।

एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया सह संयोजक कुशुम पौडेलका अनुसार विशपको प्रस्तुतिमा गर्भावस्था र बच्चा जन्मिएपछिको समयमा आउने भावनात्मक तथा मानसिक परिवर्तनहरू, अभिभावक बन्दा आइपर्ने मानसिक तनाव र त्यसको व्यवस्थापन, आमा र शिशुको मानसिक स्वास्थ्य तथा परिवारको भूमिकाबारे गहन छलफल गरिनेछ।

सह संयोजक पौडेलका अनुसार यो कार्यक्रम महिला पुरुष दुवैका लागि अझ विशेष गरी नयाँ तथा बन्न गइरहेका आमाबुबाका लागि अत्यन्तै उपयोगी हुने बताउनु भयो ।

प्रकाशित मिति : July 26, 2026 at 5:35 pm