बाबुराम भट्टराई स्मृति पुरस्कार रश्मी गौतमलाई प्रदान
२४ मंसिर, काठमाडाैँ । बाबुराम भट्टराई स्मृति प्रतिष्ठानले यस वर्षको स्वर्गीय बाबुराम भट्टराई स्मृति पुरस्कार पुल्चोक क्याम्पसको आर्किटेक्चर विभागमा अध्ययनरत विद्यार्थी रश्मी गौतमलाई प्रदान गरेको छ। सोमबार पुल्चोक क्याम्पसमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।
गौतमले यस वर्षको इन्जिनियरिङ तर्फको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएकी थिइन्। २० हजार राशीको उक्त पुरस्कार स्वर्गीय भट्टराईकी श्रीमती मथुरा भट्टराईले प्रदान गरेकी थिइन् ।

इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डिन इन्जिनियर बाबुराम भट्टराईको विसं २०६६ मंसिर २४ गते निधन भएको थियो। उनैको सम्झनामा परिवारले तीन वर्ष अघि प्रतिष्ठान खोलेका थिए। यसैबीच इन्जिनियरिङ अध्ययन संस्थानले ‘ए ब्लक’ सभाकक्षलाई ‘बाबुराम भट्टराई स्मृति हल’ नामाकरण गरेको छ।
प्रकाशित मिति : 20:42









