४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

रुकुमपश्चिममा बाढीपहिरोका कारण ४८ घर परिवार विस्थापित, १ हजार ६६१ परिवार उच्च जोखिममा

५ साउन, काठमाडौँ । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन् । आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ ।

जिल्लामा बाढी र पहिरोका कारण एक हजार छ सय ६१ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिरोको उच्च जोखिममा आठबिसकोट नगरपालिकाकै घर धेरै रहेको समितिको भनाइ छ ।

आठबिसकोटमा नगरपालिकामा एक हजार पाँच सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार बाँफिकोट गाउँपालिकामा ५४ र मुसिकोट नगरपालिकामा ५० घरपरिवार उच्च जोखिममा छन् । उक्त परिवार जोखिममै बस्न बाध्य छन् ।

जोखिममा रहेका घर परिवारलाई तत्काल अस्थायी आश्रय स्थलका लागि जिल्ला विपत् व्यवस्थापन समितिले टेन्ट माग गरेको छ । तत्कालका लागि एक हजार सात सय नौ थान टेन्टलगायतका अत्यावश्यक सामग्रीको व्यवस्था गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष माग गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

जिल्लामा पर्ने मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग तथा अन्य ग्रामीण सडक मनसुनजन्य विपत्का कारण अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै सडक अवरोध हटाउनका लागि डोजर, सडक मजदुरलगायतका स्रोत साधनहरू तयारी अवस्थामा राखिएको बताएको छ ।

गत सोमबार राति आठबिसकोट नगरपालिकाको १२ गिजागार खोलामा बाढी आउँदा झिनचौर बगरमा अस्थायी आवासमा सुतिरहेका तीन बालिकाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । विस्थापित परिवारलाई नजिकै रहेको कर्णाली वेभरेज र काष्ठ उद्योगमा स्थान्तरण गरिएको विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार १४:०३