बैंक र सर्वसाधारणबाट करोडौं रकम उठाएर विराटनगरका सुन व्यापारी सन्तोष कुमार बेगवानी फरार
२४ मंसिर, विराटनगर । बैंक र सर्वसाधारणबाट करोडौं उठाएर विराटनगरका सुन व्यापारी सन्तोषकुमार बेगवानी फरार भएका छन् ।
डेढ दशक यता विराटनगरमा सुन चाँदी पसल सञ्चालन गरिरहेका विराटनगर महानगरपालिका-७ जलजला चोकमा ॐ लक्ष्मी ज्वेलर्स सञ्चालक शिशु भन्ने बेगवानी बैंक र सर्बसाधरणको करोडौ रुपैयाँ उठाएर परिवारसहित फरार भएका हुन् ।

३ वटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १५ करोड रुपैयाँ ऋण लिएर भारततर्फ लागेका छन् । चाँदीको बढी कारोवार गर्दै आएका सन्तोषकुमार चाँदीको बजार भाउ घटेपछि देश नै छाडेर भागेको बताइएको छ ।
केही वर्षयता ऋणमा डुबेका सन्तोषले व्यपारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए । ‘पसलमा चाँदीका भाँडाबाहेक केही सामग्री थिएन’ स्रोतले भन्यो ‘सटर बन्द गरेर उनी परिवारसहित भारत प्रवेश गरेका छन् ।’
सर्बसाधारणको सुन धितो राखेर ऋण समेत दिँदै आएका सन्तोषले लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंकबाट २७ करोड भन्दा बढी रुपैयाँ ऋण लिएको उनीसँग कारोवार गरिरहेकाहरु बताउँछन् ।
उनले लक्ष्मी बैंकबाट ८ करोड, ग्लोबल आइएमईबाट ३ करोड र प्राइमबाट करिब १६ करोड रुपैया ऋण लिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले ठगिएकाहरुले प्रहरीमा उजुरी दिएको बताए । सोमबार दिउसोदेखि व्यक्तिगत र समूहगत रुपमा उजुरी आएपछि छानविन थालिएको उनले बताए ।
प्रकाशित मिति : 17:42









