निर्मला हत्या प्रकरणः अपराध स्वीकार्ने युवाहरू चोरीको अभियोगमा हिरासतमै रहेको खुलासा
२४ मंसिर, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन अर्कै अभियोगमा पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौंमा राखिएका विशाल चौधरी र प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको अाजको कान्तिपुर दैनिकमा चित्रगं थापा र भवानी भट्टले समाचार लेखेका छन ।
प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी बिटमा जाहेरी दिएका थिए । त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।
एसपी कडायतका अनुसार सालघारी पोस्टले पक्राउ गरी विशाललाई वडा प्रहरी कार्यालयमा राखेकामा साउन ११ गते दिउँसोसम्म उजुरीकर्ता नआएपछि अभिभावकको जिम्मा लगाएर छाडिएको हो । कुखुरा र ३ सय रुपैयाँ चोरी आरोपमा उनीहरू पक्राउ परेका कडायतले बताए । प्रदीपलाई सामान्य सोधपुछ गरी छाडिएकाले कुनै रेकर्ड नदेखिएको र विशाललाई दोस्रो दिन उनकै बुबा वीरबहादुरको जिम्मा लगाएर छाडिएको एसपी कडायतले बताए ।

वीरबहादुरले भने विशाललाई १० गते ४ बजेको आसपास घरबाटै पक्राउ गरिएको बताए । साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा मृत भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या साउन १० गते २ देखि ३ बजेको बीचमा भएको यसअघि नै प्रहरीले सार्वजनिक गरिसकेको छ । प्रहरीले सोही घट्नामा शंकास्पद भन्दै विशाल र प्रदीपलाई अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी कडायतका अनुसार काठमाडौंमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका प्रदीपले प्रारम्भिक बयानमा आफूहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको सकारेका छन् । उनले विशालसँग बयान लिने र थप छानबिन गर्ने काम भइरहेको बताए । ‘सबै कुरा टुंगो लागिसकेको छैन,’ एसपी कडायतले भने, ‘प्रदीपसँगै विशालले पनि अपराध सकारेका छन्, तर अपराध प्रमाणित गर्ने ठोस प्रमाण र आधार अझै पुगेको छैन ।’
उनले दुवै जनाको बयानका आधारमा थप शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण तयारी भइरहेको उल्लेख गर्दै त्यो मात्रै अपराधको प्रमाण हुन नसक्ने दाबी गरे । ‘सय प्रतिशत नमिल्न पनि सक्छ, क्यारेक्टर नमिल्न पनि सक्छ, डीएनए अपराध पत्ता लगाउन सहयोगी माध्यम मात्र भएको हुँदा अन्य प्रमाण र आधार पनि चाहिने हुन्छ ।’
दुवै जनालाई बिहीबार अभिभावकसंँगै काठमाडौं पठाइएको थियो । ‘प्रहरीले सँंगै पठाए पनि छोरासँग भेट हुनै दिएन,’ विशालका बुबा वीरबहादुरले भने, ‘महेन्द्रनगरबाटै फरक–फरक गाडीमा लगियो, प्लेनमा पनि सिट फरक–फरक थियो ।’ बिहीबार ६ बजे सोधपुछ गर्ने ठाउँमा पुगे पनि १२ बजे मात्रै छोरासँग भेट्न दिएको उनले बताए । ‘तपाईंहरू टीभी हेर्न‘ भनेर छोरालाई भित्र लगियो, कहांँ हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘६ घण्टापछि ल आउनुस् भनेर भित्र (सोधपुछ गरिरहेको ठाउँमा) लगेका थिए ।’
‘लागूऔषध खुवाएर बयान लिएजस्तो देखिन्छ’
‘विशाललाई भेटेपछि मेरै सामुन्ने सोधियो, उसले मैले नै अपराध गरेको भनेर बयान दियो,’ वीरबहादुरले भने, ‘तर उसको अनुहार निकै रातो थियो, लागूऔषध खुवाएर बयान लिएजस्तो देखिन्थ्यो ।’ उनले भोलिपल्ट पनि ३ बजे भेट्न दिएको र त्यतिबेला पनि फ्रेस नदेखिएको उनले बताए ।
फर्कने बेला प्रहरीले डीएनएको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने बताएको उनले जानकारी दिए । ‘छोरालाई लागूऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको छ,’ उनले दाबी गरे ‘मेरो छोरा लागूऔषध सेवन गरेर कुखुरा तथा पैसा चोरीमा लागे पनि बलात्कार र हत्याजस्तो अपराधमा संलग्न हुन सक्दैन ।’
शनिबार विशालका बुबा वीरबहादुर र सोधपुछकै लागि काठमाडौं बोलाइएका अर्का युवक दिनेश र उनका बुबा पवन महेन्द्रनगर फर्किएका हुन् । दिनेश र विशालको घर भीमदत्त नगरपालिका १८ भगतपुर उल्टाखाम रोडमा पर्छ । प्रदीपको घर भीमदत्त भगतपुरकै नेपाली सेनाको ब्यारेक पछाडि छ । उनीहरू १७/१८ वर्षका भएको आफन्तले जनाएका छन् ।
प्रकाशित मिति : 09:43









