१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले अध्यक्ष ओली चौँथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, आजै सपथ र मन्त्रिपरिषद् गठन

३० असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौँथो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा एमाले अध्यक्ष ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका ओलीले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । शुक्रबार नै राति साँढे ९ बजे ओलीको नेतृत्वको सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेश गरिएको थियो ।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् ।

आजै सपथ र मन्त्रिपरिषद् गठन

ओलीले आजै सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको छ । नेपाली कांग्रस र एमालेका बीचमा कम्तिमा तीन तीन जना मन्त्रीलाई आजै सपथ गराउने तयारी भएको छ । नेपाली कांग्रेसबाट प्रकाशमानसिंहले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ । कांग्रेसबाट आजै डा आरजु राणा देउवा र रमेश लेखक लगायतको सपथको सम्भावना रहेको छ ।

त्यस्तै नेकपा एमालेबाट पनि विष्णु पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराई, महेश बर्तौला, छविलाल विश्वकर्मा, सूर्यबहादुर थापा मध्येबाट मन्त्रीको सपथ गराउने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन । यद्यपी ओलीको एकल निर्णय हुने भएकाले अपरान्हसम्ममा मात्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम थाहा हुने उनीहरूले बताएका छन ।

प्रकाशित मिति : ३० असार २०८१, आईतवार ०७:३३