१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

संसदमा विश्वासको मत माग्दै प्रचण्ड, विपक्षमा दुई तिहाइ मत पर्ने सम्भावना

२८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद बैठकमा विश्वासको मत माग्दैछन । प्रधानमन्त्री प्रचण्डले विश्वास परीक्षणका लागि आजको समय मागेका कारण सभामुखले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएका छन ।

संसदभित्र प्रचण्ड बहुमतसहित सरकारको नेतृत्व सरू गरेका प्रचण्ड अन्ततः संसदमा विश्वासको मत नपाएर शुक्रबारदेखि सरकारबाट विदा हुँदैछन । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यस्तै सत्ता साझेदार अन्य केही दलले पनि समर्थन फिर्ता लिएका थिए ।

प्रचण्डको पक्षमा अहिलेसम्म जम्मा ६३ मत प्राप्त हुने पूर्वानुमान गरिएको छ । माओवादीको ३२ राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेकपा एकीकृत समाजवादीको १० मत प्रचण्डको पक्षमा पर्ने देखिन्छ । त्यस्तै प्रचण्डको विपक्षमा २०७ मत पर्ने अनुमान गरिएको छ । जसमा नेपाली कांग्रेसको ८८, नेकपा एमालेको ७७, राप्रपाको १४, जसपाको ७, जनमतको ६, जसपा नेपालको ५,  लोसपाको ४, नागरिक उन्मुक्तिको ४ र स्वतन्त्र २ मत रहेका छन ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ०९:४९