१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कर्मचारी समायोजन अध्यादेश जारी, खटाइएको ठाउँमा नजाने कर्मचारीको जागिर चट हुने

२३ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज सो अध्यादेश जारी गर्नुभएको हो ।

प्रदेश तहमा कर्मचारी अपुग भइरहेको र खटाइएका स्थानमा कर्मचारी नजाने समस्या विद्यमान रहेको अवस्थामा उक्त अध्यादेशले तोकिएको सुविधा दिएर कर्मचारी प्रदेशमा खटाउने र अटेर गरेमा सेवाबाट बिदा दिन सकिनेसम्मको अधिकार रहेको जनाइएको छ ।

सङ्घ र प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेकै दिन अध्यादेश जारी हुनुले प्रदेश तहलाई राहत मिल्ने अपेक्षा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आउँदो पुसभित्र कर्मचारी समायोजन पूरा गर्ने बताउँदै आउनुभएको छ ।

प्रकाशित मिति : December 9, 2018 at 8:58 pm