२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

वेब सिरिज ‘घर बट इन अमेरिका’ को छायांकन सुरू, १० वर्षपछि अरुणिमाको कमब्याक

२३ असार, काठमाडौँ। नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ। सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन्।

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैँले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन्। एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन्। सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए। उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए।

सिचुएशनल कमेडी(ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए। विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ(इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो। यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ।
हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन। निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताए।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार ११:०६