१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

बालबालिका मन्त्री थापा सहभागी कार्यक्रमकाे विरोध गर्दा  दुई बालअधिकार अभियन्ता जाेसी र सिलवाल पक्राउ 

२३ मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगर सहभागी कार्यक्रमलाई विथोल्न खोज्दा दुई बालअधिकार अभियन्ता  भक्तपुरस्थित एसओएस चिल्ड्रेन भिलेजमा आयोजित कार्यक्रम स्थलबाट पक्राउ परेका छन् ।

पूर्वबालक्लब सदस्य समेत रहेका अभियन्ता धिरज जोशी र प्रविण सिलवाल पक्राउ परेकाे महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । युनिसेफ र प्लान इन्टरनेशनल लगायतका आइएनजीओले आयोजना गरेकोे ‘अल्टरनेटिभ कियर’ विषयक कार्यक्रममा मन्त्री थापाले मन्तव्य राख्न लाग्दा उनीहरुले विरोध जनाएका थिए ।

बालअधिकारका लागि राष्ट्रिय अभियानमा आबद्ध जोशी र सिलवाल यसअघिदेखि नै आएजीओको विरुद्धमा गतिविधि गर्दै आएका छन् ।उनीहरुले एनजीओको कार्यक्रममा मन्त्रीको उपस्थितिको विरोध जनाएका थिए ।

‘हामीले यसअघि पनि भन्दै आएका छौं । बालबालिकाको क्षेत्रमा हुने डलर खेती बन्द गरौं’, अभियन्ता जोशीले कार्यक्रममा भनेका थिए, ‘मन्त्रीज्यू आफैं यस्तो कार्यक्रममा सहभागी हुनु लज्जापद छ ।’‘बालबालिकाको नाममा आईएनजीओहरुले ब्रम्हलुट मच्चाएका छन्’, जोशी भन्छन्, ‘उनीहरुलाई नै सरकारले साथ लिनु दुःखद् छ ।’

अर्का अभियन्ता सिलवालले मन्त्री थापाले यसअघि बालबालिका सम्बन्धी ऐन संशोधन नभएसम्म कार्यक्रममा जाँदिन भनेर प्रतिवद्धता जनाएको दाबी गरे । सिलवाल यसअघि पनि विधेयक च्यातेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : 16:16